

काठमाण्डौ ।
गत मंगलबार कार्तिक २ गते नेपाल विश्व हिन्दु महासंघ द्वारा बाङ्गलादेशमा रहेका अल्पसंख्यक हिन्दु समुदाय माथि निरन्तर भईरहेको हिंसात्मक घटनाको बिरोधमा काठमाडौं स्थित बाङ्गलादेश दूतावास लाई ज्ञापन पत्र बुझाइएको छ। नेपालको लागी बाङ्गलादेशी राजदूत सलाउद्दीन नोमान चौधरी मार्फत बाङ्गलादेशी प्रधानमन्त्री “शेख हसिना वाजेद” लाई नेपाल विश्व हिन्दु महासंघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष एवं संगठन बिभाग प्रमुख बिजय प्रकाश निषाद, केन्द्रीय उपाध्यक्ष डा. गणेश प्रसाद आचार्य तथा केन्द्रीय कोषाध्यक्ष सत्यदेवी सेढाई सहितको टोलिले भेटि ज्ञापन पत्र भुझाइएका छन।

नेपाल विश्व हिन्दु महासंघको केन्द्रीय अध्यक्ष डा. केदारनाथ दाहाल तथा केन्द्रीय सचिव अभिषेक तिवारी द्वारा संयुक्त रूपमा उल्लेखित उक्त ज्ञापन पत्रमा बाङ्गलादेशमा रहेका अल्पसंख्यक समुदाय र तिनका आस्था माथि बारम्बार यस्ता अमानवीय घटनाहरु हुदै आएको प्रति महासंघ गम्भीर रूपमा चिन्तित रहेको भनिएको छ। महासंघले बाङ्गलादेश सरकार लाई अल्पसंख्यक समुदाय र उनीहरुको आत्मविश्वास एवं रक्षाका लागी ठोस प्रतिबद्धताका साथ अगाडि आउन आग्रह गर्दै जबरजस्ती धर्म परिवर्तन गराउने कार्य विरुद्ध बाङ्गलादेशी क्षेत्र भित्र अल्पसंख्यक समुदायको सुरक्षाका लागी कडा कानून प्रवर्तनको माँग गरेका छन्।

महासंघका केन्द्रिय वरिष्ठ उपाध्यक्ष बिजय प्रकाश निषाद सहितको टोलि द्वारा बाङ्गलादेश दूतावास लाई हस्तान्तरित उक्त ज्ञापन पत्रमा बाङ्गलादेशमा रहेका अल्पसंख्यक समुदायहरु संग नेपाल विश्व हिन्दु महासंघको गम्भीर सहानुभूति रहेको साथै अन्तर्राष्ट्रिय समुदाय र संयुक्त राष्ट्र मानव अधिकार परिषद लाई यस्तो हिंसा र हमलाहरु लाई गम्भीरता पूर्वक लिन समेत अनुरोध गरिएको छ।
