कौशल निरोला, विराटनगर ।। विराटनगर महानगरमा नेपाल नर्सिङ संघ मोरङको भबन बन्ने भएको छ । विराटनगर स्थित वार्ड नं ४ मा बन्ने भबनको शिलान्यास सोमवार विराटनगर महानगरका मेयर भीम पराजुलीले गरे । नोबेल मेडिकल कलेज तथा शिक्षण अस्पतालले उपलब्ध गरााएको १० धुर जग्गामा ४ कोठे भवन बन्न लागेको हो । शिलान्यास कार्यक्रममा बोल्दै मेयर पराजुलीले नर्सिङ पेशा र हकहितका सवालमा संस्थाले दर्बिलो भएर काम गर्न आबश्यक भएको बताए ।
पेशागतरुपमा अझै पनि श्रमशोषण हुने गरेका घटना बाहिर आइरहेको र यसलाई संबोधन गर्ने संस्था जागरुक हुन आबश्यक भएको उनको भनाइ थियो । भवन निर्माणका लागि महानगरले यथासक्य सहयोग गर्ने आश्वासन मेयर पराजुलीले दिए । यस्तै नर्सिङ संघ केन्द्रिय उपाध्यक्ष तारा शाहले सेवाभावका साथ काम गर्ने नर्सिङ स्टाफ अनेकन उल्झनका साथ काम गरिरहनु परेको बताइन ।
राज्यले नर्सहरुको शुरक्षा,सेवा र भैपरि आउने उल्झनका विषयमा सोच्न जरुरी भएको बताइन । कार्यक्रममा नर्सिङ स्टाफ पुनम गिरीले भवन निर्माणका लागि १ लाख १ सय १ रुपैया प्रदान गरेकी छन् । यस्तै संघकी अध्यक्ष कविता अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरे,नोवेल मेडिकल कलेजका लोकानाथ न्यौपाने,इन्दिरा शर्मा,संघकी सचिव मेनुका भण्डारी लगायतले आ आफ्ना धारणा ब्यक्त गरेका थिए ।