

वीरगंज – सशस्त्र प्रहरीका डिआईजी कालिदास धौवजी तस्करी नियन्त्रणमा कडा पहरेदारका रूपमा चिनिएका थिए। तर उनको सरुवापछि पर्सा जिल्लामा तस्करीको गतिविधि फेरि सक्रिय बन्दै गएको देखिएको छ।
मधेस प्रदेशको सशस्त्र प्रहरी कमान्ड सम्हाल्न डिआईजी कृष्ण ढकालको आगमनसँगै सीमावर्ती क्षेत्रमा तस्करी फस्टाउन थालेको छ। प्रत्यक्षदर्शीहरुको भनाइअनुसार पर्साको विभिन्न नाकाबाट दिनदहाडै अबैध तस्करी हुँदै आएको छ, जसबाट नेपाल सरकारले प्राप्त गर्नुपर्ने करोडौं रुपैयाँ राजस्व गुमिरहेको छ।



भारतसँग खुल्ला सीमाना जोडिएको पर्सा जिल्लामा तस्करी नियन्त्रणभन्दा बाहिर गइरहेको छ। छपकैया, सृसिया, अलौ, तिलावे, बर्वा, प्रसौनीभाठा, धोरे, पकहा, खेस्राहा, सबैठ्वा, टिहुकी, भेडिहर्वा, आसवारी, जानकीटोला, पाँडेपुर, पिडारी गुठी, धुमाटारहुमाटार, महादेवपट्टी, सुवर्णपुर र विजयबस्तीजस्ता नाकाबाट तस्करी खुलेआम भइरहेको स्थानीयवासीहरू बताउँछन्।
आसबारी , जाबकीटोला र पान्डेपुर नाकाबाट एमाले नेता जालिम मियाँ मंसुरीको संरक्षण र सीमामा खटिएका प्रशासनको मिलेमतोमा अवैध राँगाभैसी खुलेआम तस्करी भइरहेको छ । जगरनाथपुर गाउँपालिका -४ जगरनाथपुर निवासी एमाले नेता जालिम मियाँ मंसुरीको कान्छो छोरा जफिर मियाँले आफ्नै गाउँमा संचालन गर्दै आएका जगरनाथपुर पशु बजार नामक पशु हार्ट बजारमा शक्तिकेन्द्रकै आडमा भारतबाट अवैध रूपमा ल्याइएका तस्करीको राँगाभैसीहरु खुलेयाम खरिद बिक्री वितरण भइरहेको छ। सातामा आइतबार र बिहीबारका दिन लाग्ने पशु बजारमा ठुलो संख्यामा भारतीय सीमावर्ती गाउँहरूबाट आउने राँगाभैसीहरूको भरमा जगरनाथपुर बजार टिकेको स्थानीयहरुले बताए।
यस्तै जानकीटोला नाकाबाट दसवता निवासी अफताब आलमले भारतबाट सख्खरको तस्करी गरिरहेका छन भने दसवता निवासी उमेश गुप्ता र दिपक साहले नेपालबाट चाईनिज लाईटर, चाईनिज१० फिटे ईन्चीटेप लगायतका चाईनिज समान, चुरोट, युनीलीवर कम्पनीका सबै समान, फेयरलवली, फेयरलवलीको पाउच, प्रोस्टाइल तेल, क्लोजअप पेस्ट, नेपाली उत्पादित बिभिन किसिमको पर्फिउम सेन्ट र विभिन्न किसिमको क्रिम र भारत प्रतिबन्धित प्लास्टिक जन्य समानलगायतको तस्करी गरिरहेका छन ।
त्यस्तै- आस्बारी नाकाबाट गेहु, धान, रङ्गाभैसी र कुखुराको चल्लाको तस्करी भइरहेको छ ।
यस्तै भेडिहर्वा, टिहुकी र चरगाहा नाकाबाट गेहु, धान, घरेलु मदिरा तथा सिल प्याक मदिरा रक्सीको तस्करी भइरहेको छ । उता, बिहार सरकारले मदिरा उत्पादन तथा बिक्रीबितरणमा रोक लगाएका कारण नेपालबाट भारततर्फ घरेलु मदिरा र सिल प्याक मदिराको पनि तस्करी भइरहेको छ ।

धोरे नाकाबाट पनि किराना समान तथा , लत्ताकपडा, पाउडर दूध, हार्डवेयर,भारतीय ब्रान्डका सूर्तीजन्य पदार्थ रजनीगन्धा, खानेतेल, चिनी लगायतका खाद्यान्न र कस्मेटिक समानको तस्करी भइरहेको छ ।
त्यस्तै, प्रसौनीभाठा नाकाबाट लखनपुर निवासी रामशंकर र रमेश सहित ५ जनाको समुहले भारतीय ब्रान्डका बच्चा पिउने पावर दुध,काजु र चकलेट तस्करीको लाईन पाएका छन । अर्का गर्दौल निवासी शहनी थरका तस्करले पनि भारतीय ब्रान्डका बच्चा पिउने पावर दुध, काजु र चकलेट तस्करीको लाईन पाएका छन । यस्तै, प्रसौनीभाठा नाकाबाट तस्कर अजयले किराना समान, जितेन्द्र कपडा, प्रकाशले किराना समान, रबिन्द्र गुप्ता किराना सरफदेव ग्रुप कपडा, अबदुल खसिबाख्रा, रबिन्द्र साह किराना समान, हरिनारायण किराना, भारतका मुसहरवाका बिनय साह जुत्ताचप्पल, सुर्तीजन्य समान, राजनिवास, हार्डवेयर, मिठा, प्रकाश साह किराना, सुनिल किराना, अजय किराना, मनोज किराना, इन्द्रजित कष्टमेटिक, अनिल कष्टमेटिक समानको तस्करी गरिरहेका छन । यस्तै, धोरे नाकाबाट कपडा,चकलेट, किराना समान र जुत्ताचप्पलको तस्करी भइरहेको छ । यस्तै, नेपालको तुलनामा भारतीय पेय पदार्थ सस्तो भएकोले भारतीय कोक, फेन्टा, स्प्राइट, मैङ्गो जुस लगायतका पेय पदार्थ तस्करीको माध्यमबाट नेपाल भित्रिंदै छन्।
भारतका कुख्यात तस्कर विकास कुमारको टोलीले नेपालका तस्करहरूसँग मिलेर पर्साको अमरपटीमा संगठित रूपमा तस्करी गरिरहेको स्थानीय स्रोतले जनाएको छ। उनीसँग चर्चित तस्कर उत्तम तिवारीसहितका समुह संलग्न छन्। पर्साको बिन्दबासिनी गाउँपालिका घर भएका चर्चित तस्कर उत्तम तिवारीसहितका समूहहरूले अमरपट्टी नाकाबाट कपडा, पपकन बनाउने मकै र चाइनिज समानको तस्करी गरिरहेको स्थानीय प्रत्यक्षदर्शीहरु बताएका छन। अमरपट्टी नाकाबाट मध्यरातीको समयमा कपडा, पपकन बनाउने मकै र चाइनिज समााको तस्करी भइरहेको स्थानीयहरुले बताएका छन ।
यस्तै, अमरपट्टी नाकाबाट कुखुराको चल्ला तस्करीको काम स्वरुप र अन्य दुई जनाले गरिरहेका छन । उनिहरुले अमरपटी नाकाबाट चल्लाको ठूलो मात्रामा तस्करी गरिरहेका छन्। पर्सामा सञ्चालित अधिकांश कुखुरा फर्महरू यिनै तस्करीको माध्यमले भित्र्याएका चल्लाबाट सञ्चालन भइरहेको स्थानीयको भनाइ छ। उनिहरुको समूहले भारतीय सीमावर्ती गाउँहरूमा पिकअपबाट झारेर रातिको समय मोटरसाइकल र पैदल भरियाको माध्यमले अमरपटी नाकाबाट पर्साका ग्रामीण भेगमा सञ्चालित कुखुरा फर्महरूमा कुखुराका चल्ला सप्लाई गर्ने गरेको प्रहरी स्रोतले नै बताएको छ। अमरपटी, मधवल, झौवा, ईटियाही, विश्रामपुरलगायत पाँच गाउँमा मात्र ८० देखि १०० वटासम्म कुखुरा फर्म तस्करीकै कुखुरा चल्लाको भरमा चलिरहेका छन्।
यस्तै,अमरपट्टी नाकाबाट जलाउदिन लगायतका ४/५ जनाले कबाडको तस्करी गरिरहेको छ । यस्तै, अमरपट्टी नाकाबाट भारततर्फ ठूलो मात्रामा हड्डी स्क्रैप (Bone Scrap) तस्करी भइरहेको खुलासा भएको छ। यो अवैध व्यापारमा चर्चित तस्कर भारतीय नागरिक संजय चौरसियाको संलग्नता पाइएको छ। सूचनाका अनुसार, संजय चौरसियाले अमरपट्टी नाकाबाट हड्डी स्क्रैप तस्करी गरिरहेका छन्। वीरगंजको जगरनाथपुरस्थित हड्डी फ्याक्ट्रीबाट कटिङ गरिएको हड्डी स्क्रैप ट्रक र पिकअपमा लोड गरी अमरपट्टी सीमाक्षेत्रमा पुर्याइन्छ। त्यहाँबाट दर्जनौं भरियाहरूले साइकलको प्रयोग गरी राति १० बजेदेखि बिहान ४ बजेसम्म सीमापार तस्करी गरिरहेका छन्। नेपालमा प्रति केजी २५–३० रुपैयाँमा खरिद गरिएको हड्डी स्क्रैप भारतमा प्रति केजी ५० रुपैयाँमा बेच्ने गरिएको छ। यस तस्करीबाट तस्करहरूले ठूलो आर्थिक फाइदा उठाइरहेका छन्।
यतिमात्र होइन, भारततर्फ लागु औषध गाँजा तस्करीका लागि पर्साको पश्चिमी ग्रामीण सीमावर्ती क्षेत्र— आसबारी, जानकीटोला, पाण्डेपुर, पिडारी र भङ्गहा बलुवा नाका प्रमुख ट्रान्जिट पोइन्टका रूपमा प्रयोग भइरहेको छ। ती स्थानहरूबाट लागु औषधको कारोबार फस्टाउँदै गएको छ। तर नेपाली सुरक्षाकर्मी लागु औषध नियन्त्रणमा असफल देखिएका छन्। नेपाली सुरक्षाकर्मी तस्करीको मार्ग खुला गराएर गोजी भर्नमै व्यस्त रहेको स्थानीयहरूको आरोप छ।
युनिट इन्चार्जहरूको मिलेमतोमा भन्सार छल्दै अवैध सामान आयात हुने क्रम बढ्दै गएको छ। यसले सशस्त्र प्रहरीको भूमिकामाथि प्रश्न उठाएको छ। स्थानीय स्तरमा सुरक्षा निगरानी मजबुत नहुँदा तस्करहरूले फाइदा उठाउँदै तस्करीलाई संगठित ढंगले अघि बढाइरहेका छन्।
संबन्धित निकायको तत्काल ध्यान नपुगेमा तस्करी नियन्त्रणभन्दा बाहिर जाने खतरा रहेको सरोकारवालाहरूको चेतावनी छ।
यस विषयमा डिआईजी कृष्ण ढकालसँग बुझ्दा उहाँले भन्नुभयो, “तपाईंले सूचना दिनुभयो, म बुझ्छु। तस्करी गराइएको प्रमाणित भएमा दोषीलाई कारवाही हुनेछ।”
सिमानामा सशस्त्र प्रहरीको ड्युटी रहने भए पनि तस्करी रोकिएको छैन भन्ने प्रश्नमा, उहाँले तस्करीको पक्षपोषणजस्तो गर्दै, “डिआईजीहरू नै सिमानामा ड्युटी गर्छन्” भन्ने धम्कीपूर्ण र गैरजिम्मेवार जवाफ दिनुभयो।
