
कलैया, बारा।
बारा जिल्लाको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ मा यसपटकको निर्वाचन अत्यन्त रोचक र बहुपक्षीय प्रतिस्पर्धाको रूप लिँदै गएको देखिन्छ। परम्परागत रूपमा बलियो उपस्थिति राख्दै आएका दलहरूबीच यसपटक नयाँ शक्ति र स्थानीय समिकरणका कारण अप्रत्याशित मोड आउन सक्ने संकेतहरू देखिएका छन्। मुख्यतः नेपाली कांग्रेस (रुख चिन्ह), जसपा नेपाल, एमाले, रास्वपा (घण्टी चिन्ह) तथा जनमत पार्टीबीच मत विभाजन र समर्थन–विरोधको खेल तीव्र बन्दै गएको छ।



कांग्रेस र जसपा बीच प्रारम्भिक टकराव
क्षेत्र नं. २ मा सुरुमा नेपाली कांग्रेस र जसपा नेपालबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको थियो। विगतका निर्वाचन परिणाम, संगठन संरचना र स्थानीय प्रभावका आधारमा यी दुई दललाई मुख्य प्रतिस्पर्धीका रूपमा हेरिएको थियो। तर पछिल्लो समय केही गोप्य राजनीतिक समझदारी, व्यक्तिगत सम्बन्ध र भावी राजनीतिक स्वार्थका कारण समीकरण परिवर्तन हुँदै गएको चर्चा छ।
महागढीमाई नगरपालिकाका एक जना नेपाली कांग्रेस निकट जनप्रतिनिधिले आफ्नै भाइलाई विपक्षी उम्मेदवारका रूपमा उभ्याएर अप्रत्यक्ष रूपमा रास्वपालाई सहयोग गरिरहेको चर्चा बाहिरिएको छ। यस घटनाले कांग्रेसभित्रको आन्तरिक असन्तुष्टि र विभाजनलाई उजागर गरेको विश्लेषकहरू बताउँछन्।हुन त काँटबासी माईको मेला कै समयमा यस्तो सहमति भयो दावी समेत गरिएको हो।
त्यसैगरी पचरौता नगरपालिकामा पनि अघिल्लो निर्वाचनमा विधायक पदको आकांक्षा राखेका एक नेताले भविष्यमा सहयोग र समर्थन लिने सहमति गर्दै रास्वपालाई सहयोग गरिरहेको कुरा सार्वजनिक भएको छ। राजनीतिक वृत्तमा यसलाई “दीर्घकालीन स्वार्थमा आधारित रणनीतिक समर्थन” का रूपमा हेरिएको छ।
रास्वपाको अप्रत्याशित मजबुती
स्थानीय तहमा देखिएका यस्ता समर्थन र असन्तुष्ट नेताहरूको समीकरणका कारण रास्वपा क्षेत्र नं. २ मा क्रमशः मजबुत बन्दै गएको आकलन गरिएको छ। विशेष गरी यादव समुदायसँग सम्बन्धित केही आन्तरिक असन्तुष्टि र व्यक्तिविशेषप्रतिको विरोधका कारण पनि रास्वपालाई सहयोग गर्ने प्रतिबद्धता देखिएको चर्चा छ।
एक स्थानीय नेताले स्पष्ट शब्दमा भनेको भनाइ उद्धृत गर्दै स्रोतहरू भन्छन्— “जनमत राम्रो उम्मेदवार भए पनि उसलाई सहयोग गर्दा मेरो भविष्यको राजनीति जोखिममा पर्न सक्छ।” यसले जनमत पार्टीप्रति सकारात्मक धारणा भए पनि व्यावहारिक समर्थन नदिने प्रवृत्ति देखाएको छ। यहाँ सम्म उम्मेदवारको मुखैमा मुखभरी जवाफ फर्काएको कुरा बाहिरिएको छ।
जनमत पार्टीको अवस्था
जनमत पार्टीले मधेश केन्द्रित एजेन्डा र पहिचानको राजनीति अघि सारे संगै क्षेत्रगत आवस्यकताको अधारमा विकासको एजेन्डा राखे पनि क्षेत्र नं. २ मा आवश्यक संगठनात्मक बल र व्यापक गठबन्धन अभावले चुनौती सामना गरिरहेको देखिन्छ। स्थानीय तहमा स्पष्ट समर्थन नपाउनु र केही प्रभावशाली व्यक्तिहरूले खुलेर साथ नदिनु जनमतका लागि कमजोर पक्ष बनेको छ।

एमाले र अन्य दलको प्रभाव
एमाले र अन्य साना दलहरू पनि प्रतिस्पर्धामा छन्, तर वर्तमान समीकरणमा मुख्य प्रतिस्पर्धा कांग्रेस, जसपा र रास्वपाबीच केन्द्रित हुँदै गएको देखिन्छ। मत विभाजनको प्रत्यक्ष लाभ कसलाई पुग्ने भन्ने विषयमा अझै स्पष्टता नभए पनि बहुकोणीय प्रतिस्पर्धाले अन्तिम परिणाम अप्रत्याशित हुन सक्ने संकेत दिएको छ।
जसपाभित्रको असन्तुष्टि
देवताल क्षेत्रका जसपाका एक स्थानीय नेताले भावी गाउँपालिका अध्यक्ष बन्ने आश्वासनको सन्दर्भमा रास्वपालाई सहयोग गरिरहेको चर्चा छ। यसले जसपाको आन्तरिक एकता र अनुशासनमाथि प्रश्न उठाएको छ। यदि यस्तो प्रवृत्ति बढ्दै गयो भने जसपा नेपालले अपेक्षित मत संकलन गर्न कठिनाइ भोग्न सक्ने आकलन गरिएको छ।
निष्कर्ष
समग्रमा हेर्दा बारा जिल्ला निर्वाचन क्षेत्र नं. २ मा प्रारम्भिक रूपमा कांग्रेस र जसपाबीच टसन हुने अनुमान गरिए पनि पछिल्लो राजनीतिक गतिविधि, गोप्य समझदारी र स्थानीय असन्तुष्टिको प्रभावले रास्वपा बलियो विकल्पका रूपमा उदाउँदै गएको देखिन्छ।
मत विभाजन, व्यक्तिवादी राजनीति र भावी स्वार्थमा आधारित समर्थन–विरोधका कारण अन्तिम नतिजा कसको पक्षमा जाने हो भन्ने निश्चित भन्न सकिने अवस्था छैन। तर वर्तमान परिस्थिति विश्लेषण गर्दा रास्वपा बाजि मार्ने सम्भावना उल्लेखनीय रूपमा बढेको देखिन्छ।
अब अन्तिम निर्णय भने मतदाताको विवेक र मतदान दिनको वास्तविक उपस्थितिमाथि निर्भर रहनेछ। बारा–२ को चुनावी माहोलले यसपटकको निर्वाचनलाई विशेष चासो र चर्चा योग्य बनाएको छ। गोप्य सम्झौता बारे रास्वपा संग बुझ्न खोज्दा सिधै अस्विकार गरेका छन्। जुन वास्तविक पनि हुने संकेतको रूपमा लिन सकिन्छ।






Comments are closed.