

काठमाडौंस्थित रिपोर्टर्स क्लब नेपालबाट गत पुस २२ गते घोषणा गरिएको ‘भिजिट मधेस–२०२० एन्ड बियोन्ड’ को उद्घोष तथा अन्तरक्रिया कार्यक्रम तराई–मधेसका २२ वटै जिल्लामा सफलतापूर्वक सम्पन्न भएको छ ।
उक्त अभियानका राष्ट्रिय संयोजक ओमप्रकाश सर्राफले दिएको जानकारीअनुसार आफूहरूले घोषणा गरेको उद्घोष तथा सरोकारवालाहरूसँगको अन्तरक्रिया कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको हो । उनकाअनुसार उक्त कार्यक्रम पूर्वको झापादेखि पश्चिम कञ्चनपुरसम्म आयोजना गरिएको थियो ।
नेपाल आएका विदेशी पर्यटकहरूको कम्तीमा एकतिहाइलाई मधेस भ्रमण गराउने उद्देश्यका साथ ‘भिजिट मधेस नेपाल–२०२०’ घोषणा गरिएको छ । विगत अढाइ वर्षदेखि सञ्चालनमा रहेको उक्त अभियानलाई आयोजकले यो वर्ष पनि निरन्तरता दिएको छ । ‘भिजट मधेसबिना भिजिट नेपाल अपुरो’ हुने आयोजको विश्वास छ ।

तराई–मधेसको २२ वटै जिल्लालाई जोड्दै पर्यटनमैत्री वातावरण निर्माण गर्ने ‘भिजिट मधेस नेपाल’ अभियान नागरिकस्तरबाट विगत २ वर्षदेखि जारी रहेको आयोजकले जनाएको छ । विज्ञप्तिमा थप भनिएको छ, “यसले नेपालभित्र रहेका तराई–मधेसका पर्यटकीय गन्तव्य, संस्कृति, खानपान, रहनसहन, भेषभूषा एवं विशेषताहरूलाई विभिन्न किसिमको कार्यक्रम सञ्चालन गरी राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा प्रवद्र्धन एवं चिनाउँदै अगाडि बढिरहेको छ ।

यो अभियानको लागि तराई–मधेसको २२ वटै जिल्लामा जिल्ला, प्रदेश एवं राष्ट्रियस्तरको टिम स्वयंसेवकका रूपमा पर्यटनमैत्री वातावरण निर्माणमा लागेका छन् । साथै टिमहरूले आफ्नो जिल्ला, गाउँ–ठाउँका पर्यटकीय गन्तव्यहरूका बारेमा अध्ययन तथा अनुसन्धान र प्रचार–प्रसार गर्ने कामहरू गरिरहेका छन् ।” आयोजकका अनुसार अहिलेसम्म १२ वटा अन्य देशहरूमा पनि ग्लोबल रुपमा टिमहरू प्रवद्र्धनमा लागेका छन् ।
आन्तरिक एवं बाह्य पर्यटकहरूको सुबिधाका लागि भिजिट मधेसको डिजिटल प्लेटफर्मको मोबाइल एप्स पनि तयार गरिएको र सो डिजिटल प्लेटफर्मबाट सेवाहरू बुकिङ, खरिद र बिक्री गर्नसक्ने अत्याधुनिक सुबिधा रहेको आयोजकको भनाइ छ ।
यो अभियानको ग्लोबल कोर्डिनेटर प्रमोद राज सर्राफ छन् भने नेसनल कोअर्डिनेटरका रूपमा ओमप्रकाश सर्राफले नेतृत्व गरेका छन् । कार्यक्रममा भिजिट मधेस नेपालका राष्ट्रिय संयोजक ओमप्रकाश सर्राफले तराईर–मधेसको पर्यटन प्रर्वद्धनबिना समग्र नेपालको पर्यटन क्षेत्रको विकास र समृद्धि असम्भव रहेको बताएका छन् ।
क्लबमा आयोजित उक्त कार्यक्रममा भिजिट मधेस नेपालका ग्लोबल कोअर्डिनेटर प्रमोदराज सर्राफले प्रविधिलाई भरपुर उपयोग गरेर भिजिट मधेस नेपाल अभियानलाई अघि बढाएको स्पष्ट पारेका थिए । उनले त्यतिबेला भनेका थिए, “आजको युग २१ औं शताब्दीको युग भएकाले यो शताब्दी भनेको प्रविधिको युग हो । प्रविधिको उपयोग गरेर हामीले कुनै पनि क्षेत्रको विकास, उत्थान, गर्न सक्छौं । थोरै समय खर्चिएर चाँडै काम सम्पन्न गर्न सक्छौं ।”
राष्ट्रिय संयोजक सराफले आफूहरूको अभियानमा साथ, सहयोग र सहकार्य सबैलाई धन्यवाद दिएका छन् । उनकाअनुसार २२ वटै जिल्लामा आफूहरूलाई न्यानो आतिथ्यता प्रदान गरिएको थियो । उनले भने, “हामीले यो कार्यक्रम लिएर जहाँ–जहाँ पुग्यौं, त्यहाँका जनतामा पनि निकै उत्साह देखिएको थियो । उहाँहरूले यो अभियानप्रति सकारात्मक प्रतिक्रिया दिएका थिए ।
