
विराटनगर।
मैथिली भाषाको संरक्षण र सम्मानका लागि सञ्चालन गरिने भनिएको कार्यक्रम “मान इन्टरनेशनल अवार्ड २०२४” विवादमा परेको छ। मैथिली एसोसिएसन नेपालद्वारा होटल स्वागतममा आयोजना गरिन लागेको यस कार्यक्रममा अवार्ड वितरणका लागि गरिएको कार्यशैलीले मैथिली भाषाको गरिमा र पहिचानमाथि गम्भीर प्रश्न खडा भएको छ।



कार्यक्रम आयोजकहरूले “स्पोन्सरशिप”को नाममा १०,००० रुपैयाँ लिएर अवार्ड वितरण गर्ने प्रक्रिया सार्वजनिक गरेपछि यो विषय चर्चाको केन्द्र बनेको हो। यो कदमले अवार्डको वास्तविक उद्देश्यमाथि प्रहार गरेको र भाषा-संस्कृतिको संरक्षणमा काम गरिरहेका योगदानकर्ताहरूलाई अपमानित गरेको मैथिली समुदायका अगुवाहरूले आरोप लगाएका छन्।

मैथिली भाषाको उत्थानका लागि आयोजना हुने यस्ता कार्यक्रमहरू गौरवको विषय हुनुपर्नेमा, यो प्रकारले आर्थिक लाभका लागि अवार्ड वितरण गर्ने प्रचलनले कार्यक्रमको मर्ममाथि गम्भीर असर पार्ने देखिएको छ। मैथिली भाषाप्रेमी तथा समाजका जिम्मेवार पक्षहरूले यस्ता गतिविधिलाई “व्यापारिकरण” भन्दै कडा शब्दमा भाषा प्रेमीहरुले विरोध जनाएका छन्।
मैथिली भाषाप्रेमीहरूले आयोजकहरूलाई यस्ता निन्दनीय क्रियाकलाप तुरुन्त रोक्न आग्रह गर्दै कार्यक्रमको उद्देश्यलाई सही दिशामा लैजान दबाब सिर्जना गर्न अनुरोध गरेका छन्। “मैथिली भाषाको संरक्षण र सम्मानका लागि यस्ता गतिविधि रोकिनुपर्छ। यो हाम्रो भाषा र संस्कृतिको अपमान हो,” एक स्थानीय संस्कृतिविद्को भनाइ छ।
मैथिली भाषा हाम्रो अमूल्य सम्पदा हो। यसको संरक्षण र प्रवर्द्धन हाम्रो साझा दायित्व हो। यस्ता कार्यक्रमहरूमा गरिमा कायम राख्दै वास्तविक योगदानकर्तालाई सम्मान गरिनु आवश्यक छ। आयोजकहरूले आफ्नो कार्यशैलीमा सुधार गर्नुपर्ने र भाषा-संस्कृतिको मर्मलाई ध्यानमा राख्दै कार्यक्रम अगाडि बढाउनुपर्नेमा विभिन्न संघसंस्थाहरुले जोड दिएका छन्। मैथिली भाषाको नाममा भइरहेका यस्ता गतिविधिहरूले नकारात्मक प्रभाव पार्न सक्ने भएकाले सबै सरोकारवाला पक्ष सचेत हुनुपर्ने देखिन्छ। भाषाको गरिमा र पहिचान कायम राख्दै योगदानकर्ताको उचित सम्मानको सुनिश्चितताका लागि दबाब आवश्यक रहेकोे भाषा प्रेमीहरुले जनाएका छन्।






Comments are closed, but trackbacks and pingbacks are open.