
काठमांडौ ।
१३६ औ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत सिंह भण्डारीले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण श्रमिक नेपालीहरू लाई शुभकामना व्यक्त गर्नुभएको छ। मन्त्री भण्डारीले आज एक शुभकामना सन्देश जारी गर्दै श्रमिकहरूको अधिकार, सुरक्षाको प्रत्याभूति तथा वैदेशिक रोजगारीमा पारदर्शिता कायम गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो।




श्रम मन्त्रालयले वैदेशिक रोजगारीलाई मर्यादित, सुरक्षित र व्यवस्थित बनाउने उद्देश्यले विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको जानकारी मन्त्री भण्डारीले दिनुभयो। उहाँले आगामी दिनहरूमा वैदेशिक रोजगारका नयाँ गन्तव्य थप गर्दै प्रवासी श्रमिकहरूको समस्या समाधान गर्ने रणनीति अघि बढाइएको उल्लेख गर्नुभयो।
सन्देशमा मन्त्री भण्डारीले डिजिटल ट्र्याकिङ प्रणाली, डेस्क टु डेस्क सेवा, मोबाईल एप्लिकेसनमार्फत सेवा प्रवाह र श्रमिक कल्याण कोषलाई थप प्रभावकारी बनाउने योजना रहेको बताउनुभएको छ। वैदेशिक रोजगारका लागि तयार पारिएको ‘स्मार्ट नेपाल र स्मार्ट श्रमिक’ कार्यक्रमले दीर्घकालीन सुधार ल्याउने विश्वास व्यक्त गर्नुभयो। श्रमिकको अधिकार, सामाजिक न्याय र समावेशी समृद्धिका लागि सबैलाई एकजुट भएर अघि बढ्न मन्त्री भण्डारीले आह्वान गर्नुभएको छ।






Comments are closed, but trackbacks and pingbacks are open.