
वीरगंज – मधेश प्रदेश सरकारका श्रम तथा यातायात मन्त्री कौशलकिशोर रायको आशीर्वादमा सरुवा भई आएका कुशेश्वर साहले वीरगंजस्थित यातायात व्यवस्था कार्यालयलाई भ्रष्टाचारको ‘घुसको अड्डा’मा परिणत गरेका छन्। कार्यालय प्रमुख बनेको केही महिनामै उनले दलालहरूको संजाल सक्रिय बनाई सवारी चालक अनुमति पत्र (लाइसेन्स) सेटिङमार्फत विक्री गर्ने काम तीव्र बनाएका छन्।
साहले चैत १५ गतेदेखि कार्यालयमा हाजिरी गरेका थिए। सेवाग्राहीहरूका अनुसार उनले आएसँगै ट्रायल, लिखित परीक्षा र लाइसेन्स वितरणमा व्यापक आर्थिक लेनदेन सुरु भएको हो। कानुनी प्रक्रिया पुरा गरेर आवेदन दिने नागरिक उपेक्षित हुँदा, पैसा बुझाउनेहरू सहजै लाइसेन्स पाउँदै आएका छन्।



सूत्रहरूका अनुसार, स्कुटरदेखि ट्रक, मेसिनरी सवारीसम्मका लाइसेन्स सेटिङमार्फत १० हजारदेखि ७० हजार रुपैयाँसम्ममा बिक्री भइरहेको छ। ट्रायलमा फेल भएकाहरुलाई समेत पैसा बुझाएर पास गराउने काम भइरहेको छ।
आज, जेठ ३१ गते शनिवार, J1 एक्साभेटर, J2 ब्याकहोइ लोडर, J3 ग्रडर, J4 फोर्कलिफ्ट, H1 डोजर, H2 रोड लोडर, I1 क्रेन, I2 फायर ब्रिगेड, I3 लोडर लगायतका मेसिनरी सवारीहरूको ट्रायल सेटिङमार्फत पास गराउने योजनामा घूस रकम संकलन गरिएको स्रोतले जनाएको छ।
यस सम्पूर्ण घूस कारोबारमा प्रमुख साहका विश्वासपात्र ट्रायल प्रमुख रामसुन्दर महतो र ट्र्याक्टर फाँट तथा लिखित प्रमुख बद्री दाहाल र दर्जनभन्दा बढी दलाल लगायतको टोली सक्रिय रहेको जनाइएको छ। ट्रायल प्रमुख रामसुन्दर महतो र ट्र्याक्टर फाँट लिखित प्रमुख बद्री दाहाल प्रमुख साहका आर्थिक साझेदारका रूपमा काम गर्दै आएका छन्। ती कर्मचारीहरूमार्फत संकलित रकम मन्त्री र प्रशासनका उच्च तहसम्म पु¥याउने गरिन्छ।
घटनाको पृष्ठभूमि
साह यसअघि लहानमा पनि विवादास्पद कार्यमा संलग्न रहेका थिए। यस्तै, केही वर्ष पहिले वीरगंजमै रहँदा उनले अर्काको पिकअप गाडी नक्कली कागजातमार्फत बिक्री गरेका थिए भन्ने समाचार सार्वजनिक भएको थियो।

प्रमुख साहले दलालहरूको सहयोगमा ट्राफिक प्रहरीको प्रत्यक्ष मिलेमतोमा अवैध रुपमा लाइसेन्स वितरण गरिरहेका छन्। स्रोतका अनुसार, मोटरसाइकलका लागि १०–१५ हजार, चार चक्के सवारीको लागि १५–२५ हजार र हेभी/मेसिनरी सवारीको लागि ३०–७० हजार रुपैयाँसम्म घूस लिने गरिएको छ।
यसैबीच, अख्तियारको कारबाही
यस्तै प्रकृतिको अर्को घटनामा, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सवारी चालक अनुमति पत्रको परीक्षा फेल भएकालाई गैरकानुनी रूपमा पास गराउने सेटिङमा संलग्न दुई जनालाई पक्राउ गरेको छ।
भरतपुर चितवनस्थित यातायात व्यवस्था कार्यालयमा कार्यरत सहायक इन्द्रजित गुरुङ र बिचौलिया सुरज पाठकलाई अख्तियारको टोलीले कार्यालय परिसरबाट पक्राउ गरेको हो। गुरुङको कार्यकक्षबाट १ लाख ८५ हजार रुपैयाँ नगद, ३१ थान मोबाइल, २ थान ल्यापटप र विभिन्न कागजात बरामद गरिएको छ।
अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार, उक्त घटनाबारे थप अनुसन्धान जारी छ भने कार्यालय प्रमुख विष्णु भट्टराईसहित अन्य कर्मचारीहरू पनि अनुसन्धानको घेरामा छन्।
निष्कर्ष
वीरगंज लगायतका यातायात कार्यालयहरूमा खुल्ला रूपमा चलिरहेको यो प्रकारको भ्रष्टाचारले योग्य नागरिकलाई अन्यायमा पार्दै अयोग्यलाई सडकमा गाडी चलाउने अनुमति दिइरहेको छ। यसले जनजीवन र सडक सुरक्षामा गम्भीर खतरा उत्पन्न गराएको छ। सम्बन्धित निकायले तत्काल छानबिन गर्दै प्रमुख साह, बद्री दाहाल, रामसुन्दर महतो लगायत सबै संलग्न व्यक्तिमाथि कारबाही गर्नु आवश्यक देखिन्छ।
यस विषयमा वीरगंज यातायात कार्यालयका प्रमुख साहसँग सम्पर्क गर्दा उनले नम्बरमा कल्ल फर्वाड गरेकोले फोन सम्पर्क हुन सकेन ।






Comments are closed, but trackbacks and pingbacks are open.