
समाचार ।
प्रतिनिधि सभाको आगामी निर्वाचन नजिकिँदै गर्दा देशभर चुनावी सरगर्मी बढ्दै गएको छ । त्यही सन्दर्भमा पर्सा–३ क्षेत्र पनि पछाडि छैन । यहाँको चुनावी माहोलमा अहिले एउटा नाम विशेष चर्चामा छ—रुपेश कुमार पाण्डेय ।
राजनीतिमा पुराना अनुहारहरूसँग प्रतिस्पर्धा गर्दै पाण्डेय युवाशक्तिको नयाँ प्रतिनिधिको रूपमा उदाउँदै छन् । उनको लोकप्रियता चुलिँदै गर्दा यहाँका नेताहरू चुनावी क्षेत्र परिवर्तन गर्नेसम्मको तयारीमा देखिएका छन् । केही पुराना नेताहरूले भने उनलाई रोक्ने रणनीति बनाइरहेको पाइएको छ । यस्तो अवस्थामा पाण्डेय भने जनतामाझ अझ गहिरो संवादमा व्यस्त छन्। पाण्डेयले अन्य नेताहरूझैँ केवल शहरमा मात्र नबसी पर्सा–३ का गाउँ, टोल र गल्लीसम्म पुगेर नागरिकसँग सिधा संवाद गर्दै आएका छन्। आधा महिना गाउँमै बिताउँदै उनी स्थानीयसँग विकास योजना बनाउँछन्, समस्याको पहिचान र समाधानमा सक्रियता देखाउँछन्। उनले स्थानीयलाई अब नेताहरूबाट आशा वा सपना हैन काम खोज्नुपर्ने चेतना समेत फैलाउँदैछन् । पूराना नेताहरूले विकासका काम देखाउन नसकेको अवस्थामा स्थानीयले काम र प्रगति खोज्नुपर्नेमा उनी जोड दिन्छन् । स्थानीयसँगको छलफलमा उनले अब परिणाम सहितको काम नागरिकलाई चाहिएको बताउँछन् । त्यसका लागि आफू योजनाबद्ध भएर काम गर्दै आएको उनको भनाइ छ ।
उनी अबको आवश्यकता कामको भएको बताउँदै आएका छन् । स्थानीय स्तरमै भेटघाटमा व्यस्त रहँदा उनले भने, “अबको आवश्यकता नारावादी राजनीति होइन, योजनावद्ध र परिणाममुखी नेतृत्व हो।” यही दृष्टिकोणले उनी जनतामाझ आशाको पात्र बनेका छन्।

किशोरदेखि युवासमूहसम्मको रोजाइ, वृद्धका प्रिय पात्र
आजको पुस्ताका किशोर र युवा पुस्तामा पाण्डेको नाम मात्र होइन, रुचि, प्रेरणा र विश्वासको पर्याय बनेको । अर्कोतर्फ, समाजका वृद्ध नागरिकहरू उनलाई भरोसायोग्य पात्रका रूपमा हेर्छन्, जो व्यवहारमा नजिक छन् र भावना बुझ्न सक्छन्। एक स्थानीयले भने, “हामीले दशकौंसम्म नेताका भाषण सुन्दै आयौं, अब भने पाण्डेय जस्ता कर्मशील पाउँदा आशा पलाएको छ।”



स्थानीय विकासको स्पष्ट एजेन्डा
पाण्डेयले पर्सा–३ भित्र पर्ने पोखरिया, पकाहा, महुवन, चीपुरलगायत क्षेत्रको विकासका लागि स्पष्ट कार्ययोजना अघि सारेका छन्। पोखरिया बजारलाई व्यवस्थित र आधुनिक बनाउने, धार्मिक स्थल ‘भाडा भगवान’को संरक्षणका लागि राष्ट्रिय निकुञ्जसँग समन्वय गर्ने, कृषिमा प्रविधिकरण ल्याउने, शिक्षा र स्वास्थ्यमा सहज पहुँच सुनिश्चित गर्ने उनको प्राथमिकतामा छन्। “अबको पोखरिया पुरानै स्वरूपमा होइन, व्यवस्थित र आधुनिक हुनु जरुरी छ,” उनले भने ।
मानिकपुर निवासी पाण्डेय पछिल्ला केही वर्षदेखि समाजसेवामा उल्लेखनीय ढंगले सक्रिय छन्। समस्याको जरा बुझ्ने र समाधान खोज्ने उनको शैलीले नागरिकको विश्वास जितिरहेको छ। “प्रतिनिधित्व अब पार्टीको अनुहारबाट होइन, काम गर्ने क्षमताबाट मूल्यांकन हुनुपर्छ,” उनी स्पष्ट रूपमा भन्छन्।
उनले निर्वाचन तयारीका कारण पर्सा–३ मा केवल राजनीतिक चर्चा होइन, स्थानीय विकासको बहस पनि जन्माएको छ । युवादेखि बुद्धिजीवीसम्ममा उनीप्रति आशा र भरोसा बढ्दो छ । उनका समर्थकहरू भन्छन्, “पाण्डे अबको पुस्ताको नेता हुन्, जसले देखाउने होइन, गरेर देखाउने समय ल्याएका छन्।”
पाण्डेयको विश्लेषणमा पर्साबाट हालसम्म ४ जना प्रतिनिधि सभा सदस्य, ८ जना प्रदेश सभा सदस्य र ५ जना मन्त्री भइसके पनि अपेक्षित विकास हुन नसक्नु दु:खद हो। उनी भन्छन्, “राजनीतिक प्रतिनिधित्व उच्च भए पनि विकासमा गति नआउनु विडम्बना हो।”
स्थानीयहरू पनि पूराना नेताहरूबाट आजित छन् र नयाँ नेताको खोजीमा छन् । उनीहरूले नयाँ नेताका रुपमा पाण्डेयलाई उदाउँदो नेता र चम्किलो ताराका रुपमा उभ्याउन थालेका छन् ।
पाण्डेका अनुसार पर्सा जिल्लामा व्यापारिक, सामाजिक तथा भौगोलिक रूपले थुप्रै सम्भावना छन्, जुन नेतृत्वको इच्छाशक्ति र योजनाबद्ध कामले मात्र व्यवहारमा उतार्न सकिन्छ। त्यसैले अब नेतृत्व जनकेन्द्रित, उत्तरदायी र नतिजामूलक हुनुपर्छ भन्ने उनको जोड छ।






Comments are closed, but trackbacks and pingbacks are open.