

वीरगञ्ज, अ – वीरगञ्ज महानगरपालिका–१६ (नगवा) का सक्रिय समाजिक अभियन्ता तथा नगवा युवा समाजका पूर्व अध्यक्ष किरण चौरसिया र अनिल यादवले आज जनमत पार्टीको औपचारिक सदस्यता ग्रहण गरेका छन्। उनीहरूलाई जनमत पार्टीका नेता तथा मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले पार्टीको आधिकारिक सदस्यता प्रदान गरी स्वागत गरेका हुन्।
नवप्रवेशी युवा नेताहरूले जनमत पार्टीको कुशल नेतृत्व, विशेषतः मुख्यमन्त्री सिंहको कार्यशैलीबाट प्रभावित भएर पार्टीमा आबद्ध भएको बताएका छन्।




जनमत पार्टीका पर्सा जिल्ला अध्यक्ष ओमप्रकाश सरार्फका अनुसार, यी युवाहरूको आगमनले मधेस आन्दोलनको केन्द्रबिन्दु मानिने नगवा क्षेत्रको संगठनात्मक आधारलाई थप मजबुत बनाउनेछ। उनले छिट्टै नगवा क्षेत्रमा बृहत पार्टी प्रवेश कार्यक्रमको आयोजना गरिने योजना पनि सार्वजनिक गरेका छन्।
कार्यक्रममा जिल्ला अध्यक्ष सरार्फसँगै जनमत पार्टी वीरगञ्ज महानगर अध्यक्ष महादेव शर्माको पनि उपस्थिति रहेको थियो।





