
रंजीत पाण्डेय, काठमाडौं।
नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीस्थित देवकोटा सभा कक्षमा डा. गोपाल ठाकुरद्वारा लिखित “भोजपुरी के समाज-भाषिक अध्ययन” नामक अनुसन्धानात्मक कृतिको समीक्षात्मक विमर्श कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रम नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको हो।



कार्यक्रमको अध्यक्षता प्राज्ञ परिषद् सदस्य तथा भाषा (कोश तथा व्याकरण) विभाग प्रमुख प्राज्ञ त्रैलोकयमान बनेपालीले गर्नु भयो। कार्यक्रमको प्रमुख समीक्षक तथा वक्ताको रूपमा त्रिभुवन विश्वविद्यालयको भाषा विज्ञान केन्द्रीय विभागका पूर्व प्रमुख प्रा. डा. दानराज रेग्मी, पत्रकार तथा मैथिली भाषा अभियानी दिनेश यादव, र नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य एवम् अनुवाद विभाग प्रमुख हंसावती कुर्मी सहभागी रहनुभयो।
समीक्षात्मक विमर्शका क्रममा वक्ताहरुले उक्त पुस्तकले भोजपुरी भाषाको समाज-भाषिक पाटोलाई गहिरो विश्लेषण सहित उजागर गरेको उल्लेख गर्दै कृतिको सराहना गरे। विशेषगरी पुस्तकका अध्याय ५, ६ र ७ मा लेखक डा. ठाकुरले प्रस्तुत गरेका भाषावैज्ञानिक आधार तथा सूचकको विश्लेषणलाई समीक्षकहरुले प्रभावकारी माने।

डा. ठाकुरले प्रस्तुत गर्दै बताउनुभयो कि यस अध्ययनमा बज्जिका पूर्वी भोजपुरी क्षेत्र अन्तर्गत पर्छ भन्ने निष्कर्ष निकालेको हो। सूचकहरूको उमेर र लिङ्गसँग सम्बन्धित जानकारी तत्कालीन प्रश्नावलीमा छुट्याएर संकलन नगरेको हुँदा त्यसको छुट्टै विवरण नदिइएको स्पष्ट पार्नुभयो। साथै, सामग्रीमा बि.सं. र ई.सं. दुवै प्रयोग हुनुको कारण उपलब्ध स्रोतअनुसार जस्ताको तस्तै राखिएको जानकारी दिनुभयो।
कार्यक्रममा केही वर्जित शब्दावलीहरुको प्रयोगबारे प्रश्न उठ्दा, डा. ठाकुरले गैर-भोजपुरी भाषी पाठकहरु लाई भोजपुरी समाजप्रति सजगता र संवेदनशीलता बढाउनका लागि ती शब्दहरुको समावेश गरिएको तर्क गर्नु भयो।
पुस्तकको प्रतिलिपि अधिकार सम्बन्धी उठेको जिज्ञासामा डा. ठाकुर र नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुबेदीले उक्त अधिकार नेपाल प्रज्ञा प्रतिष्ठानमै रहेको स्पष्ट पार्नु भयो।
कार्यक्रममा विभिन्न भाषा विज्ञ, प्राज्ञ, अनुसन्धानकर्ता, लेखक, पत्रकार तथा विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो।






Comments are closed, but trackbacks and pingbacks are open.