
काठमाडौँ ।
जनता समाजवादी पार्टी, नेपालले देशब्यापी उत्पीडित र अल्पसंख्यक समुदायलाई समेटेर हालै गठन गरेको केन्द्रीय परिसंघ (डोटिम) ले राजधानीमा बृहत् अन्तरक्रिया कार्यक्रमको आयोगना गर्दैछ ।
यही शनिबार दिउँसो बाह्र बजे डिल्लीबजार कालिकास्थानको अमृतभोग पार्टी प्यालेसमा जसपा नेपालनिकट डोटिम परिसंघले देशका सबै सीमान्तकृत, अल्पसंख्यक, उत्पीडित समुदायको सहभागितामा बृहत् अन्तरक्रिया गर्न लागेको पार्टी अध्यक्ष उपेन्द्र यादवको सचिवालयले जनाएको छ ।
प्रमुख वक्ता रहेका जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले उक्त अन्तरक्रियाको उद्घाटन गर्ने कार्यक्रम छ । दलित, पिछडावर्ग, थारु, आदिवासी, मुस्लिम अल्पसंख्यक गरी सबै उत्पीडित समुदायलाई समेटेर गठन गरिएको केन्द्रीय परिसंघको प्रत्येक क्लष्टरबाट एक–एक जना वक्ता रहेका छन् ।




उक्त कार्यक्रममा दलित, थारु, महिला, आदिवासी जनजाति, पिछडावर्ग, मुस्लिम र अल्पसंख्यक समुदायसँग सम्बन्धित नेतृत्व, संघ–संस्था तथा व्यक्तित्वहरूको सक्रिय सहभागिता रहने जनाइएको छ । जसपा नेपालले नागरिक अधिकार, समानता, स्वतन्त्रता र सामाजिक न्यायको प्राप्ति, आर्थिक, सामाजिक–साँस्कृतिक भेद्भाव, असमानता र उपेक्षाको अन्त्यका लागि संयुक्त संघर्ष गर्ने उद्देश्यले केन्द्रीय परिसंघको ब्यानरमा बृहत् अन्तरक्रियाको आयोजना गरिएको बताइएको छ ।
केन्द्रीय परिसंघले हालै सार्वजनिक गरेको अवधारणा पत्रमा दलित, आदिवासी जनजाति, पिछडावर्ग, थारु, मुस्लिम, अल्पसंख्यक समुदाय र महिलामाथि भइरहेको आर्थिक, सामाजिक, धार्मिक, साँस्कृतिक र राजनीतिक असमानता, विभेद, शोषण र उत्पीडन अन्त्यका लागि संयुक्त रुपमा संघर्ष गर्ने उल्लेख गरिएको छ ।
सीमान्तकृत उत्पीडित समुदायहरूको राष्ट्रिय पहिचानको मान्यता, जनसंख्याका आधारमा प्रतिनिधित्व, मानव अधिकारको प्रत्याभूति, सबैलाई गुणस्तरीय शिक्षा, स्वास्थ्य, रोजगारी, सामाजिक सुरक्षा, समानता र सामाजिक न्याय सुनिश्चित गर्न देशब्यापी संघर्षमा उत्रिने जनाएको छ ।






Comments are closed, but trackbacks and pingbacks are open.