
वीरगंज — वीरगंज महानगरपालिकामा पछिल्ला दिनमा देखिएको पानीको चरम अभावलाई लिएर संघीय सरकार र नेपाल खानेपानी संस्थानले संयुक्त रूपमा समस्या समाधानका लागि युद्धस्तरमा काम गरिरहेको खानेपानी मन्त्री प्रदीप यादवले बताएका छन्।
मन्त्री यादवका अनुसार वीरगंजमा हाल डिप बोरिङ जडान, चुहावट नियन्त्रण तथा धारा जडान प्रक्रियामा सहजता ल्याउन आवश्यक स्रोत साधन परिचालन गरिएको छ। “हाम्रो एक मात्र पवित्र उद्देश्य नगरवासीलाई सहज रूपमा खानेपानी आपूर्ति गर्नु हो,” मन्त्री यादवले भने।



यसैबीच, नेपाल खानेपानी संस्थान वीरगंज शाखाले दैनिक ८० लाख लिटर पानी उत्पादन तथा वितरण गर्दै आएको जानकारी दिइएको छ। तर, केही स्थानमा अनधिकृत रूपमा पाइप फुटाउने, भल्भ खोल्ने, मोटर जडान गर्ने जस्ता गतिविधिका कारण कृत्रिम अभाव सिर्जना गरिएको संस्थाले जनाएको छ।

संस्थानको अनुगमन टोलीले स्पर्श अस्पताल र शुभ लाभ पेट्रोल पम्प पछाडिको गली क्षेत्रमा रातिको समयमा भल्भ बन्द गरी अनधिकृत मोटर जडान गरिएको, पाइप फुटाइएको लगायतका गतिविधि पत्ता लगाएको छ। संस्थाले यस्ता कार्यले आपूर्ति प्रणालीमा बाधा पुर्याउनुका साथै संस्थाको बदनाम गर्ने प्रयाससमेत रहेको आरोप लगाएको छ।
नेपाल खानेपानी संस्थान वीरगंज शाखाले यस्ता गलत कार्य रोक्नका लागि सर्वसाधारणलाई सक्रिय भूमिका खेल्न आग्रह गर्दै विज्ञप्ति जारी गरेको छ। विज्ञप्तिमा भनिएको छ, “नगरवासीहरूले यस्ता गतिविधिबारे तुरुन्त जानकारी गराएमा हाम्रो साझा उद्देश्य सफल हुनेछ।”
संस्थानले वीरगंजवासीहरूसँग सहकार्य गर्दै सेवा सुधारमा प्रतिबद्धता जनाउँदै सूचनाका आधारमा आवश्यक कानुनी कारबाही गर्ने जनाएको छ।






Comments are closed, but trackbacks and pingbacks are open.