
कलैया, बारा।
आजको घोर कल्युगमा वैदिक परम्परा, सादगी र संस्कारलाई आत्मसात गर्ने विवाह बिरलै देखिन्छ। तर बाराको परवानीपुर निवासी पटेल परिवारले सामाजिक विकृति, देखासिकी र दाइजो प्रथाजस्ता कुरीतिलाई चुनौती दिँदै उदाहरणीय वैदिक विवाह सम्पन्न गरी समाजमा सकारात्मक सन्देश प्रवाह गरेको छ।



परवानीपुर गाउँपालिका–५, बहुअरी, बारा निवासी श्री अजय पटेलकी सुपुत्री आ० कुमारी ज्योती पटेल र वीरगञ्ज महानगरपालिका–३, प्रगति नगर, पर्सा निवासी श्री लालबाबु पटेलका सुपुत्र चि० विक्की पटेल बीच सम्पन्न यो विवाह दाइजोमुक्त, सादगीपूर्ण तथा शुद्ध वैदिक विधिअनुसार सम्पन्न भएको हो।
दुवै परिवारको आपसी सहमतिमा गहिरो रूपमा जरा गाडेर बसेको दाइजो प्रथालाई पूर्ण रूपमा अस्वीकार गर्दै धार्मिक, नैतिक र सामाजिक मूल्यलाई उच्च सम्मानका साथ विवाह सम्पन्न गरिएको छ। आजको समाजमा विवाहलाई अनावश्यक खर्च, तडकभडक र लेनदेनसँग जोडेर हेर्ने प्रवृत्तिको विपरीत यस जोडीले मर्यादा पुरुषोत्तम राजा रामचन्द्र र माता सीताको आदर्शलाई आत्मसात गर्दै सादगी, संयमता र संस्कारयुक्त वैदिक विवाह संस्कार अपनाएका छन्।
विवाहका दिन साधु–सन्तको अगुवाइमा वैदिक विधिअनुसार शोभायात्रा प्रारम्भ गरिएको थियो। परम्परागत रूपमा दुलाहालाई गाडी, घोडा वा भड्किलो सवारीमा राख्ने चलनको सट्टा दुलाहा विक्की पटेललाई करिब १०० मिटर टाढैबाट साधुसंतको आशीर्वाद स्वागत पश्चात् पैदल यात्रा गर्दै साधु–सन्तको अगुवाइमा अघि बढेका थिए। साथै साधु–सन्त संगै भगवान राम जस्तै साधुसंतको पछिपछि करिब १०० मिटर टाढाबाट दुलहीको मडवा सम्म भजन, कीर्तन जस्तै- मात्र भगवानको जयकारा लगाउदै आशीर्वाद सहित दुलाहालाई दुलहीको मडवासम्म ल्याएका थिए, जसले वैदिक मर्यादाको अनुपम उदाहरण प्रस्तुत गरेको थियो।

दुलही पक्षले पनि साधु–सन्तसँगै दुलाहाको स्वागत गर्दै आपसी सम्मान, समानता र सरल जीवनशैलीलाई प्राथमिकता दिएको थियो। कुनै पनि प्रकारको दाइजो, अनावश्यक भोजभतेर वा तडकभडक बिना नै शुद्ध वैदिक विधिअनुसार विवाह सम्पन्न गरिएको यस समारोहमा उपस्थित आफन्त, बुद्धिजीवी, समाजसेवी तथा स्थानीयवासीहरूले खुलेर प्रशंसा व्यक्त गरेका थिए।
यस विवाहले समाजमा व्याप्त दाइजो प्रथा, आर्थिक बोझ, देखासिकी र नैतिक विचलनविरुद्ध सशक्त सन्देश दिएको छ। विवाह लेनदेन होइन, दुई आत्मा, दुई संस्कार र दुई परिवारबीचको पवित्र बन्धन हो भन्ने सन्देश व्यवहारमै प्रस्तुत भएको देखिन्छ।
यसै सन्दर्भमा मधेश जनविद्रोह समिति तथा CIN नेपालको तर्फबाट सञ्चारकर्मी अनिल वर्मा, नन्दकिशोर गिरिले नवदम्पती लाई कदर पत्र प्रदान गरेका छन्। दाइजोमुक्त विवाह, वैदिक संस्कारको संरक्षण र सामाजिक कुरीतिविरुद्ध उदाहरणीय कदम चालेको भन्दै उक्त सम्मान प्रदान गरिएको हो।
कदर पत्र प्रदान गर्दै आउँदो दिनमा बेहुली ज्योती पटेलले आफ्ना जन्मदिने बुबा–आमाको सधैं सम्मान कायम राख्दै, आफ्नो कुल र समाजको गरिमा कहिल्यै झुक्न नदिने तथा ससुरा बुबा र सासू आमाको सेवा, सम्मान र आज्ञापालन गर्दै ससुराली घरमा माता सीताको जस्तै शालीन आचरण, सहनशीलता, संस्कार र मर्यादा कायम राख्ने विश्वास व्यक्त गरिएको थियो।
उक्त कार्यक्रममा मधेश जनविद्रोह समितिका केन्द्रीय सदस्यहरू अजय पटेल, गणेश साह, नन्दकिशोर गिरी, जितेन्द्र प्रियान्सु, मुन्ना ठाकुर, अहमद हुसेन, अनुप यादव, उपेन्द्र यादव, मानन्धर पासवान, दिपेन्द्र साह लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागीहरूले यस्तो विवाहले समाजमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गर्दै नवदम्पतीको उज्ज्वल दाम्पत्य जीवनको कामना गरेका थिए।
कदर पत्र ग्रहण गर्दै नवदम्पतीले वैदिक संस्कार, पारिवारिक मर्यादा र सामाजिक उत्तरदायित्वलाई जीवनभर आत्मसात गर्दै समाज सुधारमा सकारात्मक भूमिका खेल्ने प्रतिबद्धता जनाएका छन्। उनीहरूको यो उदाहरणीय कार्यले मधेश मात्र होइन, समग्र समाजलाई कुरीतिमुक्त, सादगीपूर्ण र मूल्यमा आधारित विवाह संस्कारतर्फ प्रेरित गर्ने अपेक्षा गरिएको छ।






Get started instantly—earn on every referral you make!
jmntoj