
कलैया, बारा ।
कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै बारा जिल्लाको सदरमुकाम कलैयामा जेनेरेशन ‘जेन–जी’ पुस्ताका युवाहरूले नारा जुलुस सहित प्रदर्शन गरेका छन्।
प्रदर्शनमा उत्रिएका युवाहरूले नारा जुलुस गर्दै कलैयाको सहिद चौकमा पुगेर कोणसभा गरेका थिए। उनीहरूले “प्रतिवेदन सार्वजनिक गर”, “सत्य तथ्य लुकाउन पाइँदैन”, “जनतालाई जानकारी दिनुपर्छ” जस्ता नाराहरू लगाएका थिए।

कोणसभालाई सम्बोधन गर्दै वक्ताहरूले कार्की आयोगको प्रतिवेदन लामो समयसम्म सार्वजनिक नगरिनु पारदर्शिता र जवाफदेहितामाथि प्रश्न उठाउने विषय भएको बताएका छन्। उनीहरू सरकारले ढिलाइ नगरी प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग राख्दै सत्य तथ्य बाहिर ल्याउन दबाब सिर्जना गर्न यस्तो कार्यक्रम गरिएको बताए।

कार्की प्रतिवेदन विषयमा देशैभरी विरोध हुने गरेको साथै कलैया बीरगंज लगायत हरेक सदरमुकाममा प्रदर्शन गर्ने गरिएको छ। यस्तो हुनुमा अब देशमा रहेका युवापुस्ताहरुले नै सरकारलाई खबरदारी गरि प्रतिपक्षीको भुमिका निर्वाह गर्ने देखिन्छ।
प्रदर्शनमा सहभागी युवाहरूले देशमा सुशासन कायम गर्न र जनताको विश्वास कायम राख्न यस्ता महत्वपूर्ण प्रतिवेदनहरू समयमै सार्वजनिक हुनु आवश्यक रहेको धारणा व्यक्त गरेका छन्। विगतका अनेकौं आयोगका प्रतिवेदन लुकाएको जस्तै यो प्रतिवेदन लाई पनि लुकाउने षड्यन्त्र हुने आसंका गर्दै चौतर्फी दबाब सृजना भएको देखिन्छ।
उनीहरूले आगामी दिनमा पनि प्रतिवेदन सार्वजनिक नभएसम्म आन्दोलनका कार्यक्रमहरूलाई निरन्तरता दिने चेतावनी समेत दिएका छन्।






Comments are closed.