

वीरगंज – वीरगंज मुख्य भन्सार हुँदै चाइनिज लहसुनको भारततर्फ अवैध तस्करी तीव्र भएको छ । स्थानीय तस्करहरूले वीरगंज महानगरपालिकाको मिना बजारबाट चाइनिज लहसुन खरिद गरी शङ्कराचार्य गेट हुँदै प्रहरीकै मिलेमतोमा रक्सौलतर्फ तस्करी गरिरहेको बुझिएको हो ।
तस्करीको यो कार्य दिनभर पाँच वटा अटो रिक्सा प्रयोग गरी भइरहेको छ, जसको भिडियो प्रमाणले यो गतिविधि उजागर गरेको छ ।भारतमा लहसुनको मूल्यमा भएको वृद्धिसँगै तस्करहरूको ध्यान चाइनिज लहसुनमा आकर्षित भएको छ । तस्करहरूले वीरगञ्ज बजारबाट सस्तो मूल्यमा चाइनिज लहसुन खरिद गरेर सीमा पार रक्सौलमा महँगो मूल्यमा बिक्री गरिरहेका छन् ।




यो अवैध गतिविधिमा सशस्त्र प्रहरी र प्रहरी चौकी इनर्वाका केही अधिकारीहरूको पनि संलग्नता रहेको आशङ्का गरिएको छ । उनीहरूले आर्थिक लाभ उठाउँदै तस्करीमा सहयोग पुर्याइरहेको स्थानीय स्रोतले जनाएको छ ।
यसैबिच, सर्वसाधारणले रक्सौलबाट आफ्नो व्यक्तिगत र व्यापारिक सामग्री ल्याउँदा सीमामा खटिएका प्रहरीले दुःख दिने गरेको गुनासो गरिरहेका छन् । तर, तस्करीको काम खुलेआम चलिरहेकाले स्थानीयमा असन्तुष्टि बढेको छ ।यसले सीमा सुरक्षामा गम्भीर प्रश्न खडा गरेको छ र यस विषयमा सम्बन्धित निकायले तत्काल छानबिन गरी कारबाही गर्नुपर्ने देखिएको छ ।





