
वीरगंज, पर्सा।
जनता समाजवादी पार्टी नेपालले हालै गठन गरेको केन्द्रिय परिसंघले देशको सबै उत्पीडित समुदायलाई समेटेर बृहत् अन्तरक्रिया सहितको खबरदारी सभा आयोजना गरेको छ। सभाका मुख्य आकर्षक जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव रहेका थिए।



शनिबार दिउसो विरगंजको टाउन हालमा आयोजित उक्त सभालाई जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले उदघाटन गरेका छन्।
जसपा नेपालले नागरिक अधिकार, समानता, स्वतन्त्रता र सामाजिक न्यायका लागि संयुक्त संघर्ष गर्ने उद्देश्यले केन्द्रिय परिसंघको ब्यानरमा बृहत् अन्तरक्रियात्मक खबरदारी सभा आयोजना गरेको हो।
परिसंघको आयोजनामा भैरहेको उक्त कार्यक्रममा दलित, थारु, महिला, आदिवासी जनजाति, पिछडावर्ग, मुस्लिम र अल्पसंख्यक समुदायसँग सम्बन्धित नेतृत्व, संघ-संस्था तथा व्यक्तित्वहरूको सक्रिय सहभागिता रहेको छ।

अवधारणा पत्र सार्बजनिक :
परिसंघको कार्यदिशा, आगामी कार्यभार र उद्देश्यहरू समेटिएको ३५ बुँदे अवधारणा पत्र सार्वजनिक गरिएको छ । कार्यक्रममा जसपा नेपालका अध्यक्ष यादवले १३ पृष्ठको उक्त अवधरणा पत्र प्रस्तुत गरेका हुन्।
अवधारणा पत्रमा दलित, आदिवासी जनजाति, पिछडावर्ग, थारु, अल्पसंख्यक समुदाय र महिलामाथि भइरहेको आर्थिक, सामाजिक, धार्मिक, सांस्कृतिक र राजनीतिक असमानता, विभेद, शोषण र उत्पीडन अन्त्य गर्ने उल्लेख गरिएको छ।
उत्पीडित समुदायहरूको राष्ट्रिय पहिचानको मान्यता, जनसंख्याका आधारमा प्रतिनिधित्व, मानव अधिकारको प्रत्याभूति, सबैलाई गुणस्तरीय शिक्षा, स्वास्थ्य, रोजगारी, सामाजिक सुरक्षा, समानता र सामाजिक न्याय सुनिश्चित गर्न संघर्ष गरिने उल्लेख गरिएको छ।
कार्यक्रममा जसपा नेपालका सह-अध्यक्ष रकम चेम्जोङ्ग, उपाध्यक्ष गोविन्द चौधरी, महासचिव लालबाबु राउत, कार्यकारिणी समिति सदस्य राजकुमार राई, परिसंघका केन्द्रीय अध्यक्ष चन्देश्वर पासवान, मधेश प्रदेका पूर्व मुख्यमन्त्री सरोज यादव लगायत पार्टीका शिर्ष नेतृत्वको सहभागिता रहेको छ।






Comments are closed, but trackbacks and pingbacks are open.