
अ न्तर प्रदेश राष्ट्रिय कुस्ती प्रतियोगिता–२०८२ मा मधेश प्रदेशले सर्वाधिक ८ स्वर्ण र दुई रजत पदक सहित प्रथम




प्रतियोगिताको तेश्रो तथा अन्तिम दिन मंगलबार बिहान भएको फाइनल राउण्डमा मधेश प्रदेशका खेलाडीहरु हावी भएका थिए । १० वटा स्वर्ण पदकको लागि भएको प्रतिस्पर्धामा ८ मा जित हासिल गरेका छन् ।
प्रतियोगितामा विभिन्न १० तौल समूहमा १० वटा स्वर्ण पदकको लागि प्रतिस्पर्धा भएको थियो । १० मध्ये आठ स्वर्ण जितेर मधेशका खेलाडीहरुले कुस्ती खेलका लागि मधेश उर्वरभूमि रहेको तथ्यलाई एकपटक फेरी सार्थक साबित गरेका छन् । १० वटै तौल समूहको फाइनलमा प्रतिस्पर्धा गरेका मधेशका खेलाडीहरु भने दुई वटामा रजत पदकमा चित्त बुझाउनुपरेको छ ।
समापन समारोहलाई सम्बोधन गर्दै वक्ताहरुले मधेशमा खेलको भविष्य उज्जवल रहेकाले यसमा लगानी गर्नका लागि मधेश प्रदेश सरकारलाई आग्रह गरे । जति धेरै प्रतियोगिता हुन्छ, त्यति नै खेलाडीको प्रदर्शन राम्रो हुन्छ । त्यसैले नियमित रुपमा प्रतियोगिताहरुको आयोजना, खेलाडीहरुका लागि खेल सामग्रीको व्यवस्थापन, खेल मैदानको व्यवस्थापन सरकारले गरिदिनुपर्ने धारणा उनीहरुको थियो ।
मधेश खेलकूद परिषदका नवनियुक्त सदस्य लभ अधिकारीले खेलको विकासका लागि नै मधेशमा परिषद् गठन गरिएको बताउँदै अव खेलको गतिविधि बढ्दै जाने विश्वास व्यक्त गरे । खेल गतिविधिलाई बढाउनका लागि परिषद्ले आवश्यक तयारीहरु गरिरहेको उनले जानकारी दिए ।
सो अवसरमा भलिवलका राष्ट्रिय प्रशिक्षक भरत यादवले खेलकूदले नै खेलाडीको प्रदर्शनमा सुधार आउने भएकाले खेल गतिविधिलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।
नेपाल कुस्ती संघ मधेश प्रदेशका अध्यक्ष रमेश साहको अध्यक्षतामा भएको समापन समारोहमा स्वागत मन्तव्य कराँतेका प्रशिक्षक रामबाबु साहले गरेका थिए भने आयोजकका तर्फबाट अजित कुमार मिश्रले म्याच अफिसियल, टीम म्यानेजर, प्रशिक्षकहरुलाई टोकन अफ लभले सम्मानित गरेका थिए ।




